इलाम । सातौ संस्करणको लामागाउँ गोल्डकपमा नेपालको मिलियन फ्रेन्डर्स क्लब एमएफसी पान्दाम फाइनल प्रवेश गरेको छ ।
शहिद हवलदार सत्पाल राईको स्मृतिमा भइरहेको प्रतियोगिताको दोश्रो सेमीफाइनलमा सिक्किमको रेडपान्डा नाम्चीलाई २–० गोल अन्तरले हराउँदै पान्दाम फाईनल पुगेको हो ।
फाइनल प्रवेश गरेसँगै पान्दामले २ लाख भारतीय रुपैयाँ सुरक्षित गरेको हो ।
पान्दामको जीतमा सचिन योल्मो र नयन प्रधानले समान एक एक गोल गरे ।
खेलको १५ औ मिनेटमा सचिनले अग्रता दिलाएका थिए । नयनले अग्रता दोब्बर बनाएपछि पान्दामको जित सुनिश्चित बन्यो ।
अब उपाधिको लागि पान्दामले शनिबार मानेभञ्ज्याङ फुटबल क्लब मानेभञ्ज्याङ भारतसंग प्रतिस्पर्धा गर्नेछ ।
मानेभञ्ज्याङले झापा ११ लाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
सेभेन ए साइड प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख भारतीय रुपैया प्राप्त गर्नेछ ।
सेमीफाइनलमा पुग्ने टोलीहरुलाई जनही १० हजार प्रदान गरिएको छ ।
दार्जिलिङको लामागाउँमा आयोजना भइरहेको प्रतियोगिता लामागाउँ वेलफेयर सोसाइटीले हरेक बर्ष आयोजना गर्दै आएको छ ।