पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा भने मनाङले बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे। तर, विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे । दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।
पेनाल्टी अघि दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
पहिलो हाफमा मनाङका कप्तान विमल राना पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
खेलको नवौं मिनेटमा प्राप्त पेनाल्टीमा विमलले बाहिर प्रहार गरे ।
आर्मीका डिफेन्डर युद्द शाहीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।