पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट दर्शकले रंगशाला गएर खेल हेर्न पाउने भएका छन् ।
आयोजक सहारा क्लब पोखराले सामाजिक संजालबाट सेमिफाइनलबाट दर्शकलाई प्रवेश दिइने जनाएको छ ।
सहाराले दर्शकहरुलाई स्थानीय प्रशासनले लागु गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न अनुमति दिइने जनाएको छ । तर, सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति हुने आयोजकले जनाएको छ ।
यस अघि प्रतियोगिता दर्शक विहीन संचालन भईरहेको थियो ।
आयोजकले खेल हेर्न ३ सयको टिकट दर राखेको छ । टिकट प्रभु पे बाट किन्न सकिन्छ ।
प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।