काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गर्ने भएको छ ।
द एथ्लेटिक युकेको अनुसार ब्रेन्टफोर्डले एरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गर्ने जनाएको छ ।
ब्रेन्टफोर्ड र एरिक्सनबीच अनुबन्ध सम्झौताका लागि सहमति बनेको बताईएको छ ।
तर, उनको अनुबन्ध उनको मेडिकल रिपोर्टले तय हुने जनाईएको छ ।
डेनमार्कका मिडफिल्डर एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।
उनले हालै इटालियन क्लब इन्टर मिलानसँगको सम्झौता रद्द गरेका थिए ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।