काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको खेल एक अर्थमा विवादास्पद रह्यो ।
खेल लिभरपुलको पक्षमा २–१ रहेको बेला प्यालेसविरुद्ध पेनाल्टीको निर्णय दिइएको थियो । यो निर्णय नै विवादास्पद रह्यो र सबैले मानेका छन्, यो निर्णय ठीक थिएन् । तर त्यसमै लिभरपुलले गोल गरेर जित निश्चित गरेको छ।
यो खेलपछि प्यालेसका व्यवस्थापक के चुप लाग्थे र ? उनले पनि रेफ्री केभिन फ्रेन्डको खुलेर आलोचना गरे र एउटा गम्भीर आरोप लगाए र यो थियो, प्रिमियर लिगमा ठूला टिमलाई फाइदा हुने खालको निर्णय हुने गरेको छ । अनि उनी के पनि मान्छन् भने रेफ्रीले त्यो पेनाल्टीको एउटा निर्णय नदिएको भए खेलको नतिजा जस्तो पनि हुन सक्थ्यो ।
भिएराले भनेका छन्, ‘प्राय: टिम र रेफ्रीबीचको बैठकमा भन्ने गरिन्छ, यस्तो निर्णय खेलकै एउटा भाग हो, तर यस्तो स्थितिमा निर्णय भने बढी ठूला क्लबकै पक्षमा जाने गरेको छ । यो नै सबैभन्दा बढी आपत्तिको विषय हो । ठूला टिमविरुद्ध खेल्दा प्यालेसले यस्तो अवस्था यसअघि पनि सामना गरिसकेको छ ।’
अब प्रश्न उठ्छ, के यस्तो स्थिति भिएराले खेल्दाको समयमा पनि थियो त ? कुनै समय उनी आर्सनलका कप्तान थिए र त्यो समय इंग्लिस फुटबलमा आर्सनलको खुबै दबदबा थियो । उनले आर्सनलका लागि सन् १९९६ देखि २००५ बीच खेले । त्यति बेला भन्ने गरिन्थ्यो, आर्सनललाई फाइदा हुने गरेर रेफ्रीका निर्णय हुने गर्थे ।
–मिररको सहयोगमा ।