काठमाडौं । मारियो बालोटोली कता छन् अचेल ? यी विवादास्पद खेलाडी त चर्चामा आइरहनु पर्ने खेलाडी हुन् । तर केही समय भयो, उनीबारे फेरि चर्चा हुन थालेको छ । नत्र राम्रो कारणले होस अथवा नराम्रो कारणले उनी समाचार छाएकै हुन्थे । फेरि यिनी जत्तिको सन्काहा खेलाडी कहाँ सजिलै पाउन सकिन्छ र ?
अहिले तत्काल उनको चर्चाको कारण हो, युरोपेली विश्वकप छनोटका लागि इटाली प्रशिक्षक रोबर्टो मानचिनीले बालोटोलीलाई फेरि टिममा बोलाउन योजना बनाइरहेका छन् । कम्तीमा इटालीका खेल पत्रकारको दाबी यस्तै छ । अनि यसको कारण हो, निकै प्रतिभाशाली यी खेलाडी फेरि लयमा देखिएका छन् ।
उनले अन्तिम पटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए । उनी आजभोलि टर्कीको एडना डेमिरस्पोरका लागि खेलिरहेका छन् र त्यस क्लबका लागि २१ खेलमा नौ गोल गरिसकेका छन् । यसअघि पनि मोन्जाका लागि इटालीमा खेल्थे । अहिले टर्कीको सुपर लिगमा उनले राम्रो गरिरहेका छन् ।
त्यसैले उनको अहिले चर्चा फेरि सुनिन थालेको हो । बालोटोली अहिले ३१ वर्षका भए, उनका राम्रो फुटबल खेल्ने दिन अझै गएको छैन् । इटालीका लागि ३६ खेलमा उनले १४ गोल गरेका छन्, जुन आफैमा राम्रो प्रदर्शन हो । मानचिनीले उनलाई इटालीका लागि खेल्ने अवसर दिन्छ भने त्यो यी खेलाडीको उतारचढावपूर्ण खेल जीवनको एक अर्को अध्याय हुनेछ ।
–मार्काको सहयोगमा ।