काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनलमा गोर्खाली जसरी खेल्ने बताएका छन्।
साफ च्याम्पियनसिपको फाइनल अघि शुक्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले जितका लागि गोर्खाली जसरी खेल्ने बताएका हुन् ।
'भोलि हाम्रो लागि ठूलो दिन हो । भोलि हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,' कप्तान किरणले भने ।
पहिलो पटक साफको फाइनल पुगेको नेपालले भोलि शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
यस अघि लिग चरणमा भारतले नेपाललाई १-० ले हराएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ । भारत भने नेपालमाथि अर्को जित निकाल्न चाहन्छ ।
कप्तान किरणले फाइनलमा विगतलाई बिर्सेर खेल्ने बताए ।
'हामी विगतको बारेमा वास्ता गर्दैनौं । विगत पहिले नै गईसक्यो । हामीले विगतमा के गर्यौं । त्यसलाई मतलब गर्ने छैनौँ । हामीले भोलिको खेलको बारेमा मात्र सोचेका छौँ,' उनले भने ।