काठमाडौं । नेपालमा १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ करोड रुपैयाँ दिने भएको छ ।
एन्फाले साफ आयोजनाका लागि सरकारले ५ करोड दिने निर्णय गरेको जनाएको छ ।
नेपालमा प्रतियोगिता आयोजना गर्न सरकारबाट श्रोत सुनिश्चितता प्रतिवद्धता पत्र सहित आर्थिक सहयोग ५ करोड प्राप्त भएको एन्फाले जनाएको छ।
शुक्रबार बसेको एन्फाको आपतकालीन केन्द्रिय कार्यसमितिको बैठकले साफको लागि ५ करोड रुपैयाँ प्रदान गर्ने मन्त्री स्तरीय निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ।
एन्फाले साफ आयोजनाको लागि कुल १० करोड खर्च हुने जनाएको छ ।
एन्फाको बैठकले १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघ (साफ)लाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।
नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन् ।
साफले नेपाललाई प्रतियोगिता आयोजना गर्न औपचारिक प्रस्ताव समेत गरिसकेको छ ।
साफ च्याम्पियनसिप अक्टोबरको पहिलो हप्ता आयोजनाको प्रस्ताव गरिएको छ ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।
नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।