एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार समूह चरणको खेलहरु सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
समूह 'ई' बाट क्यानडा र ग्रेट ब्रिटेनले अन्तिम आठमा स्थान बनाए । ७ अंक जोडेको ग्रेट ब्रिटेन समूह विजेता र ५ अंक जोडेको क्यानडा उपविजेता बन्यो ।
यसै समूहको तेस्रो स्थानमा रहेको जापान उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम आठमा पुगेको छ ।
मंगलबार क्यानडा र ग्रेट ब्रिटेनले १-१ गोलको बराबरी खेलेका थिए । जापानले चिलीलिया १-० ले हराएको थियो ।
समूह 'एफ' बाट नेदरल्यान्ड्स समूह विजेता र ब्राजिल समूह उपविजेता बन्यो । दुबै टोलीले समान ७ अंक जोडे ।
मंगलबार भएको खेलमा ब्राजिलले जाम्बियालाई १-० ले पराजित गर्यो । नेदरल्यान्ड्सले चीनमाथि ८-२ को जित निकाल्यो ।
समूह 'जी' बाट स्विडेन विजेता र अमेरिका उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका छन् । स्विडेनले ९ अंक जोड्दा अमेरिकाले ४ अंक जोड्यो ।
यस समूहबाट अष्ट्रेलिया पनि उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम आठमा पुगेको छ ।
मंगलबार स्विडेनले न्युजिल्याण्डलाई २-० ले पराजित गर्दा अमेरिका र अष्ट्रेलियाले गोलरहित बराबरी खेलेका थिए ।
अब क्वाटरफाइनलमा ब्राजिलले क्यानडासँग खेल्दा ग्रेट ब्रिटेनले अष्ट्रेलियासँग खेल्नेछ ।
यस्तै स्विडेनले जापानसँग प्रतिस्पर्धा गर्दा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ ।