एजेन्सी । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को कारण एफए कपको फाइनलमा हार्नु परेको बताएका छन् ।
शनिबार राति भएको फाइनलमा चेल्सी लेष्टर सिटीसँग १-० ले पराजित भएको थियो ।
वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरेका थिए ।
प्रशिक्षक टुचेलले विपक्षी टिमका खेलाडीले ह्यान्डबल गरेपनि रेफ्रीले भीएआर जाँच नगरेको बताए ।
लेष्टरका परेजले दोस्रो हाफमा आफ्नो डिबक्स भित्र ह्यान्डबल गरेका थिए ।
'खेलाडीहरुले यो ह्यान्डबल रहेको भने । हामीलाई लगातार दोस्रो खेलमा ह्यान्डबलको अवसर थियो । तर, भीएआर हेरिएन । आर्सनलविरुद्ध एक थियो र आज पनि । जुन निर्णायक थिए,' टुचेलले भने,'म ह्यान्डबल विशेषज्ञ हैन । मलाई थाहा छैन यो ह्यान्डबल हो कि हैन।'
खेलमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए ।
तर, भीएआर प्रविधिमा अफसाइड देखिदा उनको गोलले मान्यता पाएँन ।
यस्तै प्रशिक्षक टुचेलले टिमको प्रदर्शनबाट खुसी रहेको समेत बताए । उनले टिमलाई भाग्यले साथ नदिएको बताए ।
'हामी अभागी साबित भयौं । मलाई लाग्छ हामी जितका लागि योग्य थियौं तर हामीले हार स्वीकार्नु पर्छ,' उनले भने ।
चेल्सीलाई हराएसँगै लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो ।
यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।