एजेन्सी । इंग्ल्यान्डको एफए कप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
फाइनलमा चेल्सी र लेष्टर सिटी भिड्दै छन् । चेल्सी र लेष्टरबीचको उपाधि भिडन्त राति १० बजे सुरु हुनेछ ।
वेम्बली स्टेडियममा आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
चेल्सी आज नवौं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । तर, बलियो टिम लेष्टरविरुद्ध चेल्सीलाई सहज हुने छैन ।
लेष्टर पहिलो पटक उपाधि जित्न चाहन्छ । लेष्टरले हालसम्म एफए कप जित्न सकेको छैन ।
लेष्टर सन् २००० पछि पहिलो पटक ठुलो प्रतियोगिताको फाइनलमा समेत पुगेको हो ।
एफए कपमा चेल्सीले हालसम्म लेष्टरसँग ७ पटक प्रतिस्पर्धा गरेको छ । चेल्सीले ७ भेटमै जित निकालेको छ ।
चेल्सीका माटियो कोभासिच र एन गालो कान्टेले लेष्टरविरुद्ध खेल्दै मैदान फर्कने छन् । चोटका कारण उनीहरु टिम बाहिर रहदै आएका थिए ।
लेष्टरका जेम्स म्याडिसनले चेल्सीविरुद्धको खेल गुमाउन सक्ने छन् । उनी पूर्ण फिट छैनन् ।