एजेन्सी । मोनाको फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५-१ गोल अन्तरले पराजित गर्दै मोनाको उपाधि नजिक पुगेको हो ।
अब मोनाकोले उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मे १९ मा खेल्नेछ ।
खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो ।
२० औं मिनेटमा एलेक्सी प्युगेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर, २८ औं मिनेटमा अर्थर बोजोनले आत्मघाती गोल गरेपछि मोनाको खेलमा फर्कियो ।
खेलको ३२ औं मिनेटमा उरेलिनले गोल गर्दै मोनाकोलाई २-१ को अग्रता दिलाए ।
५५ औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोलाई ३-१ को अग्रता दिलाए ।
खेलको ७८ औं मिनेटमा सेस फाब्रीगासले गोल गरेपछि मोनाको ४-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा एलेक्सानडर गोलोभिनले गोल गर्दै मोनाकोलाई ५-१ को जित दिलाए ।