काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।
जितपछि काठमाडौंका मुख्य प्रशिक्षक बाल गोपाल महर्जन खुसी देखिए । उनले खेलाडीले योजना अनुसार खेल्दा जित सम्भव भएको बताए ।
'हामीले आफ्नो लक्ष्य अनुसार खेलेका छौँ र लिगको फाइनलसम्म पुगेका छौँ । खेलाडीले राम्रो खेलेका छन्,' उनले भने ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे ।
अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षक महर्जनले फाइनलमा धनगढीलाई हराएर काठमाडौं उत्कृष्ट टिम भएको पुष्टि गर्ने समेत बताए ।
'हामी धनगढीसँग फाइनल खेल्नु पर्नेछ । खेलाडीमा चोटको समस्या छ । लिग र प्ले अफमा गरि हामीले दुई खेल धनगढीसँग हारेका छौँ । फाइनलमा धनगढीलाई हराउँदै हामी पनि उत्कृष्ट टोलि हो भन्ने देखाउनु छ,' उनले थपे ।
काठमाडौं समूह चरणको खेलमा धनगढीसँग ३-० ले पराजित भएको थियो ।
यस्तै पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको थियो ।