काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा आज काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं र ललितपुरबीचको उपत्यका डर्बी खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ ।
पहिलो एलिमिनेटर धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएपछि काठमाडौंले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
ललितपुरले भने दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंसँगको भेट पक्का गरेको हो ।
लिग चरणको उद्घाटन खेलमा काठमाडौं र ललितपुर प्रतिस्पर्धा गरेका थिए । उक्त खेलम काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो ।
आज ललितपुर पहिलो भेटको हारको बदला लिन चाहन्छ । काठमाडौं भने अघिल्लो जित दोहोर्याउन चाहन्छ ।
काठमाडौलाई मार्की खेलाडी विकेश कुथु, तेज तामाङ, विदेशी खेलाडी मेसौके, स्टेफन, छिरिङ गुरुङ जस्ता खेलाडीको साथ रहनेछ ।
ललितपुरलाई मार्की तथा कप्तान अन्जन सहित, डोना थापा, निरज बस्नेत, कमल श्रेष्ठ, एरिक बिष्ट, पिटर सेगुन, नुर्लान जाहिद जस्ता खेलाडीको साथ रहनेछ ।
आजको खेलमा ललितपुरका नुर्लान जाहिद र काठमाडौंका तेज तामाङ प्रभावशाली देखिन सक्छन् । उनीहरु खेलको प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।
तेज तामाङ (काठमाडौं)
अक्सनको सुरुवातमै बिक्री भएका थिए तेज तामाङ । उनी २ लाखमा बिक्ने पहिलो खेलाडी हुन् । तर पहिलो खेलमा तेज कोरोनाका कारण ललितपुरविरुद्ध खेल्न पाएनन् । दोस्रो खेलमा धनगढीवरुद्ध सुरुवाती सेटबाटनै खेल्दै आएको तेजको त्यसपछिको खेलमा निकैनै उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका छन् ।
नेपाल राष्ट्रिय फुटबल टोलीका समेत नियमित सदस्य रहेको तेजले यस प्रतियोगितामा एक गोल गरेका छन् । मध्यभागमा बल नियन्त्रणमा राख्दै सटिक पास उपलब्ध गराउने र लामा सट प्रहार गर्न तथा अग्रपंक्तिमा सहजै बल उपलब्ध गराउने तेजको कला हो ।
तेजसँग नेपालको उमेर समूहसहित 'ए' डिभिजन लिगमा नेपाल पुलिसबाट खेल्दाको अनुभव रहेको छ ।
नुर्लान नोभ्रुजोभ जाहिद (ललितपुर सिटी)
अजरबैजानका नुर्लान नोभ्रुजोभ नेपालमा पहिलो पटक खेल्दैछन् । सुरुवाती केहि खेलमा लय समात्न नसकेका नुर्लान पछिल्ला खेलहरुमा भने निकै फर्ममा रहेको देख्न सकिन्छ । ललितपुरले प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा नुर्लान टोलीको महत्वपूर्ण खेलाडी रहेका छन् ।
जारी लिगमा पुरा खेल खेलेका उनले २ गोल गरिसकेका छन् । होचा कदका मिडफिल्डर नुर्लाान ‘आउट अफ बक्स’ बाट बल प्रहार गर्न, अप्रत्यासित तरिकाले बल अग्रपंंक्तिसम्म पुर्याउन र बल हाल्ड गर्नमा नुर्लान माहिर छन् ।
अजरबैजानको यू-२३ टोलीबाट खेलिसकेका नुर्लान काठमाडौंविरुद्ध पुरा समय छाउनेमा ललितपुरका खेलाडीको अग्रपंक्तिमा देखिन्छन् ।