काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुर प्ले अफमा पुगेको हो ।
ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक एक गोल रह्यो ।
जितपछि ललितपुरका प्रशिक्षक राजु तामाङ खुसी देखिए । उनले योजना अनुसार खेल्दा जित्न सफल भएको बताए ।
'हामीले योजना अनुसार खेल्यौं र जित्न सफल भयौं । टिममा केही टेक्निकल कुरा मात्र परिवर्तन गरेका हौँ । खेल्ने खेलाडी त्यहि हो । यस अघि पनि हाम्रो प्रदर्शन राम्रो थियो । स्कोर मात्र ननिस्केको हो । त्यो आज पूरा भए जस्तो छ,' उनले भने ।
प्रशिक्षक तामाङले स्कोरिङमा सुधार हुँदा पछिल्लो दुई खेलमा लगातार जित निस्किएको बताए ।
'लिगका सुरुवाती खेलमा हामी स्कोरिङमा कमजोर देखिएका थियौं । त्यो पछिल्लो दुई खेलमा सुधारिएको देखिएको छ,' उनले भने, 'आजको खेल अझै सुधारिएको देखियो । जहाँ चुकेका थियौ आज धेरै राम्रो भयो ।'
उनले डोना थापाको आगमनले पनि टिमलाई धेरै सहयोग भएको बताए ।