काठमाडौं । विराटनगर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ ।
शनिबार ललितपुर सिटी एफसीसँग ४-० गोल अन्तरले पराजित हुँदै १० खेलाडीमा समेटिएको विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।
प्ले अफमा पुग्न जित्नै पर्ने खेलमा पराजित भएपछि विराटनगरका मुख्य प्रशिक्षक यान ल खुसी देखिएनन् ।
भारतीय प्रशिक्षक यानले रेफ्रीको कारण टिमले हार्नु परेको बताए ।
'रेफ्रीले राम्रो निर्णय गरेन । तर, खेलाडीले राम्रो खेले । उनीहरुले अन्तिम समयसम्म राम्रो खेले,' उनले भने, 'हामीले खेल दौरान तीन पेनाल्टी पाएका थियौ । तर, रेफ्रीले त्यो दिएन ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक एक गोल रह्यो ।
प्रशिक्षक यानले रेफ्रीको निर्णयबाट आश्चर्यमा परेको समेत बताए ।
'म रेफ्रीको निर्णयबाट प्रत्येक दिन आश्चर्यमा परिरहेको छु । रेफ्रीकै कारण हामीले तीन अंक गुमायौ,' उनले भने, 'हामीलाई जित्नै पर्ने दबाब थियो । जित्नकै लागि खेलेका थियौं । तर, रेफ्रीकै कारण एक राम्रो टोलि प्रतियोगिताबाट बाहिरिएको छ ।'
उनले नेपाली रेफ्रीको स्तर भारतको स्कुल स्तरीय प्रतियोगिता खेलाउने रेफ्री जस्तो भएको बताए ।
'नेपाली रेफ्री भारतको स्कुल स्तरको रेफ्री जस्तै लाग्यो । तर, नेपाली फुटबलको भविष्य राम्रो छ । खेलाडी निकै मेहेनती छन् । क्लब मालिक र सहभागी टोलि पनि राम्रा छन्,' उनले थपे ।