काठमाडौं । वर्ष ७७ र नेपाली फुटबललाई फर्केर हेर्ने हो भने यस वर्ष फुटबलले बाँकी रहेको गत सिजनको कार्यक्रम पूरा गर्यो ।
गत चैतमा कोरोनाका कारण लकडाउन भएपछि खेलकुद गतिविधि ठप्प रहे । खेल्ने त के घरबाट बाहिर निस्कने अवस्था थिएन । जसका कारण यस वर्ष पुरानै कार्यक्रम सक्न संघका लागि चुनौती थियो ।
सरकारले गत चैत ११ गते लकडाउन घोषणा गर्याे । जसका कारण खेल क्षेत्र मात्रै नभएर सबै क्षेत्र प्रभावित बन्यो । खेलकुद बाहेक अन्य क्षेत्रले विस्तारै गति लिन थाले । तर खेलकुद क्षेत्र भने करिब ७–८ महिनानै ठप्प रह्यो ।
यस वर्ष हेर्ने हो भने मध्य सिजनबाट फुटबल सुरु भयो । यद्यपी कोरोनापछि फर्कने खेलमा फुटबलनै रह्यो । एन्फाले फुटबललाई फर्काउन जोड पनि गर्यो ।
७७ साल कार्तिक अन्तिम तिर कोरोनापछि नेपाली फुटबलले अन्तराष्ट्रिय यात्रा प्रारम्भ गर्यो । घरेलु लिग अनिश्चित बनेको समय फुटबललाई चलायमान बनाउन एन्फाले राष्ट्रिय फुटबल टिमलाई दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पठायो ।
कोरोनाको कहरकाबीच नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण फुटबल खेल्यो । नियमित ८ र नयाँ खेलाडीलाई कोरोना लाग्दा नेपालले नयाँ खेलाडीलाई अवसर दिदै दक्षिण एसियाली फुटबलमा दियो बाल्ने कोशिश गर्यो । तीन जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गर्दा नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० गोल अन्तरले पराजित भयो ।
पहिलो खेलमा विकास खवास, एरिक बिष्ट, दर्शन गुरुङले डेब्यु गर्दा दोस्रो खेलमा छिरिङ गुरुङ, पुजन उपरकोटी, सेसेसाङ आङ्देम्बेले डेब्यु गरे । दोस्रो खेलमा युवा र अनुभवी खेलाडी सम्मिलित टोलीले सन्तुलित प्रदर्शन गर्दा बंगलादेशलाई नेपालले गोलरहित बराबरीमा रोक्न सफल बनेको थियो ।
स्विडिस प्रशिक्षक योहान कालिन अन्तिम समयमा नेपाल आउन नपाउने भएपछि उनको स्थान बालगोपाल महर्जनले लिएका थिए । समग्रमा उनले यस मैत्रीपूर्ण खेललाई फुटबलको माहोल फर्काउनमा सदुपयोग गरे ।
बंगलादेशबाट नेपाली टोली फर्कने बित्तिकै एन्फाले महिला लिग सुरु गर्यो । गत वर्षको चैतमै सुरु हुनपर्ने लिग माघ ७ गतेबाट सुरु भयो । यसअघि हप्ते लिगको रुपमा रहेको महिला लिग तन्किदै एक महिनासम्म पुग्यो । फागुन ७ गते समापन भएको महिला लिगमा विभागीय टिम एपीएफ च्याम्पियन बन्यो ।
पहिलो पटक एन्फाले महिला लिगमा विदेशी खेलाडी राख्ने प्रावधान राख्यो । सोहि अनुसार मोफसलबाट आएका वालिङ नगरपालिकाले ४ क्यामरुनी, विराटनगर महानगरपालिकाले ४ भारतीय र चौदण्डीगढी नगरपालिकाले अन्तिम समयमा ४ सिक्किमका खेलाडी लिगमा उतारे ।
समग्रमा हेर्ने हो भने यस पटक महिला लिगमा केहि नयाँ खेलाडी देखिए । उनीहरुले आफुलाई प्रमाणित गरे । जसले उमेर समूह र राष्ट्रिय टोलीमै आफ्नो प्रभाव राख्नेछन् । पहिलो सहभागीतामै क्यामरुनका खेलाडीको उच्च प्रदर्शन रह्यो । जसले गर्दा अर्काे वर्ष अन्य टोलीमा पनि विदेशी खेलाडीको प्रभाव बढ्नेछ र लिगनै प्रतिस्पर्धात्मक बनाउने लक्षण देखिन्छ ।
महिला लिगसँगै एन्फाले गत वर्षनै रोकिएको 'बी' डिभिजन लिग आयोजना गर्याे । बाँकी ३४ खेल सकिदाँ सातदोबाटो स्थापनाकालको दुई दशकपछि पहिलो पटक ए डिभिजनमा बढुवा भयो । त्यो पनि दुई खेल अघिनै ।
यस लगत्तै एन्फाले 'सी' डिभिजन लिग आयोजना गर्याे । जसरी एन्फाले सी डिभिजन लिग सक्यो, त्यसरीनै अघिल्लो वर्ष बाँकी रहेको फुटबलको सिजन यस वर्ष पूरा भयो । एन्फाले सफलता प्राप्त गर्यो । गत वर्षको बाँकी कार्यक्रम सक्न एन्फाले देखाएको तदारुपता प्रशंसनीय रह्यो ।
विश्वकप छनोटको खेल प्रभावित बनेपछि एन्फाले थ्री नेसन्स कप आयोजना गर्यो । फिफा विश्वकप छनोटका तीन खेल बारम्बार स्थगित भएपछि एन्फाले फिफासंग अनुमती लिदै थ्री नेसन्स आयोजना गरेको थियो ।
किर्गिस्तानको ओलम्पिक टोली सहित बंगलादेश र नेपाल प्रतियोगितामा सहभागी भए । यसअघि एन्फाले चार देश सम्मिलित प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो ।
नेपालले प्रतियोगिताको सफल आयोजना मात्र गरेन, फाईनलमा बंगलादेशलाई हराउँदै उपाधिनै उचाल्यो । यस प्रतियोगितामा संजोक राई, त्रिदेभ गुरुङ र निशान खड्काले डेब्यु गरे ।
मैदान भित्र मात्र नभएर बाहिरका घटनाले समेत एन्फालाई वर्षभरी चर्चामा ल्याईरह्यो । अध्यक्ष कर्माछिरिङ शेर्पाको विवादास्पद अन्तरवार्ता होस वा वरिष्ठ उपाध्यक्षसंग शेर्पाको सम्बन्ध । एन्फालाई वर्षभरी चर्चा दियो ।
करिब दुई वर्ष अघि घोषणा गरिएको फ्रेन्चाईज फुटबलले यस वर्ष गति लियो । नयाँ वर्षको सुरुवातमै ७ टिम सम्मिलित फ्रेन्चाईज फुटबल काठमाडौंमा सुरु हुदैछ । यसले व्यवसायीक फुटबलमा नयाँ कोशेढुुङ्गा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
चोटले सताएको वर्ष
समग्रमा हेर्दा कोरोनापछि फुटबल फर्किएपनि केहि खेलाडीलाई लागि यो वर्ष दुखद रह्यो । केही महत्वपुर्ण खेलाडीले गम्भिर चोट बोके ।
राष्ट्रिय टोलीबाट निरन्तर खेलिरहेका स्ट्राइकर विमल घर्ति मगर र डिफेन्डर बिक्रम लामा घुँडाको सल्यक्रिया गर्न कतारमा रहे । महिलातर्फ समेत चोटको समस्या देखियो । स्टार खेलाडी सावित्रा भण्डारी र डिफेण्डर हिरा भुजेलले खेल्ने क्रममा गम्भिर चोट बोक्न बाध्य भए । हिराको शल्यक्रिया नेपालमै हुने भएको छ भने सावित्रा कतारमा शल्यक्रिया गर्ने तयारीमा छिन् ।
कप्तान विराजको विदाई
७७ साल पूर्व कप्तान विराज महर्जनको लागि अन्तराष्ट्रिय फुटबलको लागि अन्तिम रह्यो । घरेलु मैदानमा भएको थ्री नेसन्स कपको फाइनलको अन्तिम समयमा मैदान प्रवेश गरेका कप्तान विराजले अन्तराष्ट्रिय फुटबलबाट विदा लिए । करिब ७ हजार दर्शकलाई साक्षी राखेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट कोट लगाउँदै विदाई भए ।
१३ वर्ष राष्ट्रिय फुटबल खेलाडीको रुपमा विताउँदा उनले एक गोल गरेका थिए । त्यसबीचमा उनले ७३ क्याप जिते । जुन हालसम्मको सर्वाधिक रहेको छ ।
९ खेलाडीको डेब्यु
यस वर्ष राष्ट्रिय फुटबल टोलीबाट ९ खेलाडीले डेब्यु गरे । स्विडिस प्रशिक्षक योहान कालिन कोरोना लगत्तै स्वदेश फर्किए । जसका कारण उनी समयमै नेपाल आउन नसक्ने भए र राजिनामा दिए । त्यस लगत्तै एन्फाले टोलीको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पियो ।
यस क्रममा बंगलादेश मैत्रीपूर्ण खेल खेल्न पुगेका महर्जनले पहिलो खेलमा विकास खवास, एरिक बिष्ट, दर्शन गुरुङलाई डेब्यु गराउँदा दोस्रो खेलमा छिरिङ गुरुङ, पुजन उपरकोटी, सेसेसाङ आङ्देम्बेलाई डेब्यु गराए । यसपछि उनले थ्री नेसन्स कपमा बंगलादेशविरुद्ध संजोक राई, त्रिदेभ गुरुङ र निशान खड्कालाई राष्ट्रिय टोलीबाट डेब्यु गराएका थिए ।
नयाँ प्रशिक्षक
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्यो ।
एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एक वर्षको लागि एन्फाले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरेको हो । महर्जनले हालै नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाएका थिए ।
तर, फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।