काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य रुपेश अधिकारी नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीको व्यवस्थापक बनेका छन् ।
फ्रेन्चाईज क्लब चितवन एफसीले सोमबार अधिकारीलाई व्यवस्थापककाे रुपमा नियुक्त गरेको जनाएको छ ।
पछिल्लो समय फुटबलमा सक्रिय रहेका रुपेश चितवनको व्यवस्थापकको रुपमा देखा परेका हुन् ।
उनले व्यवस्थापकको रुपमा प्राप्त हुने रकम राष्ट्रिय महिला टिमका घाईते खेलाडी सावित्रा भण्डारी, हिरा भुजेल र समिक्षा घिमिरेलाई उपलब्ध गराउने खेलपाटीलाई बताए ।
आईएमी ग्रुपको स्वामित्वमा रहेको चितवनमा मार्की खेलाडीको रुपमा राष्ट्रिय खेलाडी भरत खवास रहेका छन् । प्रशिक्षकमा मेघराज केसी छन् । सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य अनुबन्धित छन् ।
उनले फ्रेन्चाईज प्रतियोगितालाई सहयोग गराउने उद्धेश्यले एनएसएलमा जोडिएको उल्लेख गरे ।
'मेरो आबद्धताले एनएसएललाई सहयोग पुग्ने विश्वास लिएको छु । यसले सकारात्मक सन्देश प्रभाव गर्छ जस्तो लाग्छ ।' उनले भने ।
ुएनएसएलमा आबद्ध हुने योजना थिएन । तर क्लबका पदाधिकारीले टिमको व्यवस्थापन हेर्नका लागि अनुरोध गरेपछि निर्णय लिएको हुँ । यसमा व्यक्तिगत फाईदा भन्दा पनि फुटबललाई सहयोग गर्ने भावनाका साथ जोडिएको हुँ ।' उनले थपे ।
यसअघि एन्फाकाे युवा टिमकाे व्यवस्थापक रहेका रुपेश यस पटक चितवन एफसीको व्यवस्थापक बनेका छन् ।
उनीसंगै केन्द्रिय सदस्य मधुसुदन उपाध्याय काठमाडौं रेजर्सको व्यवस्थापक भुमिकामा छन् । उपाध्याय राष्ट्रिय फुटबल टिमका समेत व्यवस्थापक हुन् ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज सुपर लिग बैशाख ११ बाट २५ गतेसम्म दशरथ रंगशालामा हुदैछ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भैसकेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।