काठमाडौं । नेपाल सुपर लिगको अक्सनमा विक्री नभएका युवा खेलाडी रवि पासवान पोखरा थन्डर्सबाट खेल्ने भएका छन् ।
गत महिना काठमाडौंमा भएको अक्सनमा कोटा पुरा भएका कारण रविलाई कुनै पनि टोलीले किनेका थिएनन् ।
प्रतियोगिता नजिकिदै जादा राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी सुजल श्रेष्ठले चोट बोकेपछि रवि पासवानलाई पोखराले किनेकाे हाे ।
पोखरा थन्डर्सका प्रशिक्षक नविन न्यौपानेले सुजलले चोट बोकेसँगै टोलीमा रवि पासवान झिकाएको बताए ।
‘सुजलले चोटसँगै खेल्न नसक्ने भयो । त्यसैले रविलाई टोलीमा झिकाएको छु ।’ त्रिभुवन आर्मी क्लबका प्रशिक्षक समेत रहेका न्यौपानेले भने ।
प्रशिक्षक नविनले सुजलको भूमिका (विंगर) मा रवि फिट रहेका कारण समावेश गरेको बताए ।
‘सुजल र रवि दुबै विंगर हुन् । दुबै खेलाडीनै निकै महत्वपूर्ण छन् । रवि अक्सन बाहिर रहेकाले विकल्पमा ल्याएका हौं ।’ ए लाईसेन्स कोर्ष गरेका न्यौपानेले भने ।
रविले पोखराबाट सुरुवाती भाउ (ए श्रेणीको १ लाख) नै पाउने भएका छन् ।
सुजलले खेलपाटीसँग बोल्दै कम्तिमा ४ हप्ता आराम गर्नुपर्ने डाक्टरको सुझाव रहेकाले पहिलो पटक हुन लागेको फ्रेन्चाईजमा आफु मैदानमा नउत्रने बताए ।
‘डक्टरको सुझाव अनुसार चोटको कारण ४ हप्ता आराम लिनुपर्ने हुन्छ । त्यसैले यो पटकको सुपर लिग गुमाउने छु ।’ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई स्वर्ण पदक दिलाएका कप्तान सुजलले भने ।
अक्सनको श्रेणी ए मा रहेको सुजलको सुरुवाती भाउ १ लाख रहेका थियो । अन्तिममा २ लाखसम्म पुग्दा उनलाई चार क्लबले दावी गरेका थिए ।
पोखरा, काठमाडौं रेजर्स, धनगढी एफसी र विराटनगर सिटीले सुजललाई बिट गर्दा गोलप्रथामा पोखरामा परेका थिए ।
पोखराका मार्की खेलाडी स्ट्राइकर नवयुग श्रेष्ठ हुन् ।
सुजल आफुले टोलीबाट नखेल्ने भएपनि अब म्यानेजरको भूमिकामा रहने बताएका छन् । टोलीका माग अनुसारनै आफुले नयाँ अनुभव लिन लागेको उनको प्रतिक्रिया छ ।
‘नखेलेपनि टिमसँग रहन्छु । म्यानेजर बनाएको छ । नयाँ अनुभव लिनुपर्याे भनेर हुन्छ भनेको छु । भोलीनै टोलीको प्रशिक्षणको लागि पोखरा पुग्नेछु ।’ उनले भने ।