काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा श्रीकुमारीले नयाँबस्ती युवा क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे । पम्बा योल्मु र विवेक पुनले एक एक गोल गरे ।
नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा आशिषले गोल गर्दै श्रीकुमारीलाई अग्रता दिलाएका थिए ।
तर, २१ औं मिनेटमा विवेकले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा साजनले गोल गरेपछि नयाँबस्तीले २-१ को अग्रता बनायो ।
खेलको ५८ औं मिनेटमा पम्बाले गोल गर्दै श्रीकुमारीलाई २-२ गोलको बराबरीमा लाए ।
खेलको ७२ औं मिनेटमा विवेक पुनले गोल गर्दै श्रीकुमारीलाई ३-२ को अग्रता दिलाए ।
खेलको ९० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दा श्रीकुमारीको अग्रता ४-२ को बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा नयाँबस्तीका सुमनले एक गोल फर्काएपनि श्रीकुमारीले ४-३ को जित निकाल्यो ।
जितसँगै श्रीकुमारीले १० खेलमा ११ अंक जोडेको छ । श्रीकुमारी आठौं स्थानमा उक्लिएको छ ।
नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।