काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले फराकिलो जित निकालेको छ ।
बिहीबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
ब्वाइज युनियनको जितमा विनोद राईले ह्याट्रिक गरे । टंक बहादुर स्याङतानको नाममा एक गोल रह्यो ।
खेलको २६ औं मिनेटमा कप्तान टंकले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका विनोद चम्किए ।
खेलको ६४ औं मिनेटमा विनोदले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
विनोद ६१ औं मिनेटमा सुमन श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।
खेलको ८५ औं मिनेटमा विनोदले व्यक्तिगत दोस्रो गोल गर्दा ब्वाइज युनियन ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा विनोदले ह्याट्रिक पुरा गर्दै टिमलाई ४-० को जित दिलाए ।
जितसँगै ब्वाइज युनियन लिगको चौंथो स्थानमा उक्लिएको छ ।
ब्वाइज युनियनले ७ खेलमा ११ अंक जोडेको छ ।
झम्सिखेल ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस अघिको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।