काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल डाईरेक्टर ग्यारी फिलिप्सलाई राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक बनाउने तयारी गरेको छ ।
पछिल्लो एक वर्ष एन्फा टेक्निकल डाईरेक्टरका रुपमा रहेका ग्यारीलाई एन्फाले रिक्त रहेको महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।
गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लगत्तै महिला टोली प्रशिक्षक विहीन छ ।
सागमा पहिलो पटक महिला टोलीलाई स्वर्ण जिताउने लक्ष्य बनाएका मुख्य प्रशिक्षक हरि खड्काले उपाधि भिडन्तमा भारतसँग पराजित बनेपछि नैतिकताको आधारमा प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । र, प्रशिक्षक समेत पाएको छैन ।
भर्खरै मात्रै राष्ट्रिय महिला लिग समाप्त गरेको एन्फाले हाल महिला टोलीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ । त्यसअघिनै रिक्त रहेको प्रशिक्षक पदमा एन्फाले अष्ट्रेलियन प्राविधिक निर्देशक ग्यारीलाई जिम्मेवारी दिन लागेको हो ।
‘भर्खरै लिग समाप्त भएको छ । अव महिला टोलीलाई प्रशिक्षणमा बोलाउनु पर्ने हुन्छ । त्यसको लागि प्रशिक्षक आवश्यक रहेको छ । फिलिप ग्यारीलाई जिम्मेवारी दिने तयारी गरिरहेका छौं ।‘ एन्फा निकट स्रोतले खेलपाटीलाई भन्यो ।
ग्यारीलाई एन्फाले ७६ साल कार्तिक १४ बाट प्राविधिक निर्देशनमा नियुक्त गरेको थियो । एक वर्षको कार्यकाल सकेका ग्यारीलाई एन्फाले पुनः अर्काे वर्षको लागि नियुक्ति दिने तयारी गरेको छ । कोरोना महामारीका बीच घर फर्किएका उनी नयाँ सम्झौता लगत्तै गत महिना नेपाल आएका हुन् ।
नेपाल आगमनसँगै एन्फाको प्राविधिक कामअघि उत्कृष्ट तरिकाले अघि बढेको एन्फाको बुझाई छ ।
पछिल्लो समय भने ग्यारीलाईनै पुरुष टोलीको नेतृत्व दिने एन्फाले तयारी गरेको थियो । तर ग्यारी स्वयमले आफु पुरुष भन्दा महिला टोली हेर्न तयार रहेको बताएका थिए ।
पछिल्लो समय एसियाली क्षेत्रमा महिला टोलीले गरेको प्रदर्शनबाट ग्यारी प्रभावित छन् । महिला टोलीमा सम्भावना र महिला फुटबलमा गर्न सकिने योगदानलाई लिएर उनी एन्फासंग उत्साहीत देखिन्छन् ।
ग्यारीले यस अघि पपुवा न्युगिनीको राष्ट्रिय महिला टोली समेत हेरेका थिए । यस्तै उनले मलेसियाको शीर्ष डिभिजन क्लबको टेक्निकल डाईरेक्टरको भुमिका निर्वाह गरेका थिए ।
हाल एन्फाले ग्यारीसँगै कतारसँगको सहकार्यमा कुवेतबाट समेत प्रशिक्षक ल्याउने तयारी गरिरहेका बुझिएको छ । एन्फाले यसअघि जापानसँगको सहकार्यमा जापनीज प्रशिक्षक समेत झिकाउने तयारी गरेको थियो ।
तर अहिलेसम्म विदेशी प्रशिक्षकको प्रशिक्षण नपाएको महिला टोलीलाई एन्फाले विदेशी प्रशिक्षक दिने तयारी गरेको हो । प्रो लाईसेन्स गरेका ग्यारीनै एन्फाको पहिलो प्राथमिकता देखिएका छन् ।
ग्यारीको सम्पूर्ण खर्च एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रिय पुरुष फुटबल टोलीको समेत जिम्मेवारी ग्यारीलाई दिने छलफल एन्फामा चलेको थियो । पछिल्लो समय स्विडिस प्रशिक्षक योहान कालिनले सम्झौता नविकरण नगरेसँगै एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनलाई दिएको छ ।
तर आगामी महिना नेपालमै हुने फिफा विश्वकप छनोटको खेलमा प्रशिक्षकको समेत प्रो लाईसेन्स अनिवार्य चाहिने र महर्जनसँग नभएकाले ग्यारीलाई जिम्मेवारी दिनसक्ने एन्फा स्रोतको दाबी छ ।
‘पुरुष टोलीको समेत ग्यारीलाई जिम्मेवारी हुन सक्छ । तर ग्यारी स्वयम् पुरुष भन्दा पनि महिला टोली हेर्न तयार छन् ।’ एन्फा स्रोतले भन्यो ।
नेपालमा पहिलो पटक आयोजना भएको डबल राउण्ड रोविन लिगसँगै एन्फाले मार्च अन्तिम साता वा अप्रिल पहिलो साता महिला टोलीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ ।
एन्फाको नयाँ तालिका अनुसार अर्को वर्ष जेठमा चार राष्ट्र सम्मिलित अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागीता जनाउँदै छ ।