काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
बल पोजिसनमा पकड जमाएको आर्मीले सुरुवातमै पुलिसविरुद्ध आक्रमण गरेको थियो ।
खेलको चौंथो मिनेटमा आर्मीकी विमला चौधरीले डिबक्स बाहिरबाट प्रहार गरेको बल पुलिसकी गोलकिपर सपना राईले मुस्किलले बचाईन् ।
३१ मिनेटमा पुलिसकी निरु थापाको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।
यस्तै खेलको ४४ औं मिनेटमा रश्मी घिसिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन् । उनको प्रहार पुलिसकी गोलकिपर सपनाले उत्कृष्ट बचाउ गरिन् ।
खेलको ८६ औं मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको अवसर गुमाईन । काउन्टर अट्याकमा पाएको बलमा रेखाले डिबक्सभित्रबाट फितलो प्रहार गरिन् ।
खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बनिन् । पुलिसको लागि पुजाको डेब्यु खेल हो ।
यस्तै रेखा पौडेल र गोलकिपर सपना राईले पनि पुलिसबाट डेब्यु गरेकी छिन् ।
बराबरीसंगै आर्मी र पुलिसले १/१ अंक प्राप्त गरेको छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले आर्मीविरुद्ध टिमको प्रदर्शन राम्रो भएको बताए ।
'खेल बराबर जस्तौ थियो । दुबैलाई मौका थियो । जसले गोल गर्यो र अग्रता लियो उसैको जित हुने थियो । खेल राम्रो भयो,' उनले भने, 'उपाधिका लागि खेल्दै छौँ ।'
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले बराबरीमा आफु सन्तुष्ट भएको बताए ।
'हाम्रो लागि खेल महत्वपूर्ण थियो । तर, पुलिस पनि राम्रो टोली हो । बराबर हुँदा सन्तुष्ट छौँ,' तामाङले भने, 'लामो समयको ग्यापले गर्दा तयारी राम्रो थिएन । हामी स्कोरमा चुक्न पुग्यौ ।'
प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा साबिक विजेता एपीएफले चन्द्रपुरको सामना गर्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मैदानमा हुनेछ ।
पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।