नेपालगन्ज । साहरा एफसी लखनउ र एसएसएफए दाङ बाँकेमा जारी प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
खजुरामा आइतबार भएको क्वाटरफाइनलमा साहराले धम्बोझी क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्यो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा साहराका सनवल राज, सन्जय सिंह, कमल थापा र जावेद खानले गोल गरे । धम्बोझीका लागि मनिष पौडेल र राजेन्द्र रावलले गोल गरे ।
त्यसअघि खेलको २९ औं मिनेटमा मोन्टी राजले गोल गर्दै साहराले अग्रता बनाएको थियो । तर, खेलको ७५ औं मिनेटमा धम्बोझीका राजेन्द्र रावलले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
यस्तै अर्को क्वाटरफाइनलमा एसएसएफएले साहरा एकेडेमीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
एसएसएफएका लागि सुरज डाँगीले छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा रोहित कुमारले गोल गर्दै साहरालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा अनिल केसीले गोल गर्दै एसएसएफएलाई २-१ को जित दिलाए ।
जय किसानले आयोजना गरेको प्रतियोगिता माघ ९ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।