एजेन्सी । युरोपा लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाँडेको छ ।
बिहिबार राति समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेको छ ।
खेलमा अग्रता ४२ औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो ।
पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए ।
५६ औं मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २–१ ले अघि बढाएका थिए ।
खेल सकिन ६ मिनेट अघि घरेलु टोलीका जोहान्स एगेन्स्टीनले खेल २–२ मा पुर्याएका थिए ।
डेली अलीले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई जितको नजिक पुर्याएका थिए । तर ईन्जुरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमसंग अंक खोस्न सफल रहे ।
खेलपछि टोटेनहमका प्रशिक्षक जोसे मौरिन्होले खेलाडीको आचरणमा प्रश्न उठाए ।
‘मलाई लाग्छ यो आचरणको प्रश्न हो । जो मैले यसअघि म्यान्चेष्टर युनाईटेडमा देखेको थिए ।’ मौरिन्होले भने, ‘त्यही अवस्था क्लबमा देखिएको छ । हामीले दुई अवे म्याच समूहमा गुमाएका छौ ।’
पहिलो हाफमा बेलको पेनाल्टी प्रहारनै अष्ट्रिया क्लबविरुद्ध टोटेनहमको एकमात्र आक्रमण रह्यो ।
समूह विजेता बन्नका लागि टोटेनहमलाई अर्को हप्ता एन्टवर्पविरुद्ध घरेलु मैदानमा जित निकाल्न आवश्यक देखिएको छ ।
समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो टोटेनहमको १० अंक छ । लास्क ७ अंक बटुल्दै समूह चरणबाट लगभग बाहिरिएको छ ।