एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) दुई ठुला क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'जी' मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ । युभेन्ट्स र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, क्याटलान क्लबविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने हुने छैन ।
समूह चरणको पहिलो खेलमा युभेन्ट्सले डाइनामो किभलाई २-० ले हराएको थियो ।
तर, बार्सिलोनाविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना कम रहेको छ । कोरोना संक्रमण भएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन् ।
रोनाल्डोबारे युभेन्ट्सले केहि बताएको छैन । रोनाल्डोले नेसन्स लिग अन्तर्गत अक्टोबर ११ मा फ्रान्ससँगको खेल पछि खेलेका छैनन् ।
यता, बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ । बार्सिलोनाले पहिलो खेलमा हंगेरियन क्लब एफटिसीलाई ५-१ ले हराएको थियो ।
बार्सिलोना टुरिनमै युभेन्ट्सलाई हराउने योजनामा हुनेछ ।
युभेन्ट्सविरुद्ध बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो खेल्ने छैनन् । चोटका कारण उनी टिम बाहिर रहेका छन् ।
यस समूहमा ३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा किभ र एफटिसी खेल्ने छन् ।