एजेन्सी । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा बुधबार राति इन्टरले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।
यस गोलसँगै लुकाकु लगातार ९ युरोपियन खेलमा गोल गर्न सफल भएका छन् ।
खेलको ६३ औं मिनेटमा रामी बेन्सेबैनीले पेनाल्टीमा गोल गर्दै मुन्छेनग्लाडबाखलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८४ औं मिनेटमा जोनस होफमानले गोल गर्दै मुन्छेनग्लाडबाखलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।
बराबरीसँगै समूह 'बी' को इन्टरले पहिलो १ अंक जोडेको छ । इन्टर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
१ अंक जोडेको मुन्छेनग्लाडबाख दोस्रो स्थानमा रहेको छ ।