एजेन्सी । प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिगमा रियल मड्रिडको पराजयको जिम्मेवारी आफुले लिने बताएका छन् ।
बुधबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड शख्तर डोनेस्कसंग ३–२ ले पराजित बनेको थियो ।
शनिबार एल क्लासिको अघि खराब नतिजा आत्मसाथ गरेपछि प्रशिक्षक जिदानले च्याम्पियन्स लिगको सुरुवातीलाई खराब रात र खराब खेलको संज्ञा दिए ।
उनले च्याम्पियन्स लिगमा प्राप्त नतिजाबाट समाधान खोज्नुपर्ने धारणा राखे ।
अल्फ्रेडो डी स्टेफानो स्टेडियममा मड्रिड क्लबले खराब डिफेन्सको प्रस्तुत गरेपछि पहिलो हाफमै घरेलु टोली ३–० ले पछि परेको थियो । दोस्रो हाफमा भिनिसियस जुनियर र लुका मोड्रिचले गोल गर्दै हार अन्तर घटाउने काम गरेका थिए ।
पछिल्ला चार दिनमा घरेलु मैदानमा रियलले दुई खेल गुमाएको छ । ला लिगाको पछिल्लो खेलमा समेत रियल काडिजसंग १–० ले हारेको थियो ।
शनिबार नाउ क्याम्पमा रियलले बार्सिलोनासंग हाई प्रोफाइलको म्याच खेल्दैछ ।
‘निकै खराब महशुश भएको छ । सबै चिज संगै आए ।’ जिदानले भने, ‘हामीले गल्तीमा पहिलो गोल खायौं । त्यसपछि हाम्रो आत्मविश्वास कमी देखियो । दोस्रो हाफमा खेलाडीले राम्रो खेले । यो निकै खराब खेल हो । खराब रात हो । म प्रशिक्षक हुँ । मैले समाधान खोज्नुपर्छ । मैले यस रात त्यो भेट्न सकिन ।’
रियलले सिजनको पहिलो खेलमा अंक बाँड्दै सुरुवात गरेको थियो । त्यसपछि लगातार तीन खेलमा जित निकालेको थियो । बार्सिलोनासंगको खेल अघि तालिकामा तीन अंकको अग्रता रियललाई प्राप्त छ ।
‘यसले खेलाडीलाई दुखी बनाउँछ । उनीहरुले मलाई धेरै चिज दिएका छन् । उनीहरु यसका लायक छैनन् । तर यो फुटबल हो । हामीले सोच्न पर्छ, आज अध्यारो छ, भोलि सुर्य निस्कनेछ ।’ जिदानले भने ।