एजेन्सी । प्रिमियर लिग क्लब एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डलाई कारबाही नहुने भएको छ ।
प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदानमा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई खराब ट्याकल गरेपछि उनलाई कारबाही हुने अनुमान गरिएको थियो ।
तर, इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले पिकफोर्डलाई कारबाही नहुने जनाएको छ ।
भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताबाट पिकफोर्डलाई रातो कार्ड दिनु पर्ने नदेखिएको एफएले जनाएको छ ।
यस्तै भान डाइक समेत अफसाइड पोजिसनमा रहेको एफएले निष्कर्ष निकालेको छ ।
एफएले पिकफोर्डले खराब नियतले ट्याकल हानेको प्रमाण नदेखिएको समेत जनाएको छ ।
पिकफोर्डसँग ठोक्कीएर घाइते भएका डाइकको घुँडाको शल्यक्रिया गर्नु पर्ने भएको छ ।
पिकफोर्डसँग जुधेपछि नेदरल्याण्डका २९ वर्षिय डिफेन्डर डाइक मैदानबाट बाहिरिएका थिए । जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
उनको मैदान फर्कने मिति अनिश्चित समेत बनेको छ ।