काठमाडौं । बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) ले शीर्ष डिभिजनको लिग डिसेम्बरबाट सुरु गर्ने भएको छ ।
बंगलादेश फुटबलको लिग कमिटीले डिसेम्बर १९ बाट लिग सुरु गर्ने निर्णय गरेको हो ।
संघका उपाध्यक्ष अब्दुस सलाम मुर्सेडको अध्यक्षतामा बसेको बैठकले लिग सुरु गर्ने निर्णय गरेको हो ।
बंगालदेश लिग कमिटीले आफ्ना शीर्ष डिभिजनका क्लबहरुलाई नोभेम्बर १ देखि डिसेम्बर १५ सम्म खेलाडी दर्ता गर्ने समय सिमा तोकेको छ ।
कमिटीले एक क्लबमा ४ विदेशी खेलाडीको स्विकृत समेत दिएको छ । जसमा एक एसियन खेलाडी अनिवार्य तोकिएको छ ।
यस्तै क्लबले सुरुमै खेलाडीलाई ३५ प्रतिशत रकम भुक्तानी गर्नु पर्नेछ ।
बंगालदेशको शीर्ष डिभिजन लिगमा १३ टिमले सहभागीता जनाउने छन् ।
कोरोना भाईरसको महामारीको कारण बंगलादेशमा खेलकुद गतिविधि ठप्प छन् । तर, डिसेम्बरबाट भने फेडेरसनले फुटबल सुरु गर्ने भएको हो ।
बंगलादेशले नोभेम्बरमा नेपालसँग मैत्रीपूर्ण खेलका लागि सरकारसँग अनुमति मागेको छ । नेपाल सरकारले भने मैत्रीपूर्णको लागि अनुमति दिईसकेको छ ।