एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आइनट्राख्ट फ्रान्कफुर्टले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा फ्रान्कफुर्टले हेर्था बर्लिनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बर्लिनको मैदानमा आन्द्रे सिल्भाले पेनाल्टीमा गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए ।
३६ औं मिनेटमा बास डोस्टले गोल गर्दा फ्रान्कफुर्ट २-० ले अघि रह्यो ।
खेलको ७१ औं मिनेटमा सेबास्टियन रोडेले गोल गर्दै फ्रान्कफुर्टलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा फ्रान्कफुर्टका मार्टिन हिन्टरेगीले आत्मघाती गोल गरेपनि घरेलु टिम ३-१ ले पराजित भयो ।
फ्रान्कफुर्टको यो पहिलो जित हो । जितसँगै फ्रान्कफुर्टले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्कफुर्ट बराबरीमा रोकिएको थियो ।
बर्लिनको यो पहिलो हार हो । पहिलो खेलमा बर्लिनले जित निकालेको थियो । बर्लिनले २ खेलमा ३ अंक जोडेको छ ।