एजेन्सी । साविकको विजेता अल हिलाललाई एएफसी च्याम्पियन्स लिग फुटबलबाट बाहिर निकालिएको छ ।
एएफसी च्याम्पियन्स लिगको समूह 'बी' मा रहेको हिलाललाई समूह चरणको अन्तिम खेल अघि प्रतियोगिताबाट हटाइएको हो ।
समूह चरणको अन्तिम खेलमा हिलालले बुधबार राति शाबाब अल अहलीसँग खेल्ने तालिका रहेको थियो ।
तर, शाबाबविरुद्धको खेल लागि ११ खेलाडीको मात्र नाम पठाएपछि एसियन फुटबल फेडेरेसन (एएफसी) ले हिलाललाई प्रतियोगिताबाट हटाएको हो ।
साउदी अरबको क्लब हिलालले दिएको खेलाडी सूचीमा ९ खेलाडी प्लेइङ सेटमा र दुई गोलकिपर सब्सिच्युडमा रहेका थिए ।
एएफसीको नियम अनुसार म्याच डे टिममा कम्तिमा पनि १३ खेलाडी हुनु पर्नेछ ।
तर, अन्य खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि हिलालसँग खेलाडी अपुग भएको हो ।
हिलालको १५ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरु क्वारेन्टिनमा रहेका छन् ।
साउदी अरबिया फुटबल फेडेरेसन र हिलालले खेल स्थगित गर्न एएफसीलाई आग्रह समेत गरेको थियो ।
तर, एएफसीले प्रतियोगिताको निर्धारित तालिकालाई असार गर्ने भन्दै खेल स्थगित गर्न अस्विकार गरेको थियो ।
हिलाल प्रतियोगिताबाट बाहिरिएपछि समूह 'बी' बाट युएईको शाबाब र उज्वेकिस्तानको पाख्ताकोर टासकेन्टले नकआउट चरणमा स्थान बनाएका छन् ।