एजेन्सी । यूईएफए सुपर कप फुटबलको फाइनल खेल आज (बिहीबार) राति हुँदैछ ।
हंगेरीमा हुने फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिया भिड्ने छन् ।
बुडापेस्टस्थित पुस्कास एरिनामा हुने बायर्न र सेभियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
च्याम्पियन्स लिगसहित ३ उपाधि जितेको बायर्न सुपर कप समेत आफ्नो बनाउन चाहन्छ ।
बायर्नको टिम निकै लयमा समेत रहेको छ । बायर्नले बुन्डेसलिगाको नयाँ सिजन समेत सानदार सुरुवात गरिसकेको छ ।
यता, युरोपा लिग विजेता सेभिया पनि बायर्नलाई हराएर सुपर कप जित्न चाहन्छ ।
बायर्न र सेभियाले यस अघि एक एक पटक सुपर कप जितेको छ ।
बायर्नले २०१३ र सेभियाले २००६ मा उपाधि जितेको थियो । यस पटक दुवै टिम दोस्रो पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।
सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने गर्छन । बायर्न च्याम्पियन्स लिग र सेभिया युरोपा लिग च्याम्पियन हो ।
यस्तै बायर्न र सेभियाबीचको खेलमा करिब २० दर्शकले रंगशाला प्रवेश गर्न पाउने छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण हाल बन्द रंगशालामा खेलहरु भईरहेको छ ।