एजेन्सी । काइ हाभर्ट्जको ह्याट्रिककाे सहयाेगमा चेल्सीले कारबाओ कप फुटबलमा फराकिलो जित निकालेको छ ।
बुधबार राति चेल्सीले तेस्रो चरणको खेलमा ब्रान्सलीमाथि ६–० को जित निकाल्यो ।
चेल्सीको जितमा यस सिजन लण्डन आएका हाभर्ट्जले ह्याट्रिक गरे । २१ वर्षका जर्मनीका फरवार्ड चेल्सी आएपछि पहिलो गोल गरेका हुन् । उनी जर्मन क्लब बायर लेवरकुसनबाट ७१ मिलियन पाउण्डमा यसै सिजन लण्डन आएका हुन् ।
अन्य गोल टोमी अब्राहम, रोस बार्कली र ओलिभर जिराउण्डको नाममा रह्यो ।
हाभर्ट्सले सिनियर क्लब फुटबलमा पहिलो पटक ह्याट्रिक गरेका हुन् । सन् २०२० मा भएको प्रतियोगितामा उनी २६ गोलमा सहभागी बनेका छन् । उनले १८ गोल गरेका छन् भने ८ गोलका लागि पास उपलब्ध गराएका छन् ।
उनी भन्दा माथि रोबर्ट लेवान्डोस्की, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सबै भन्दा धेरै गोलमा सहभागी बनेका छन् ।
चेल्सीले अर्को चरणमा टोटेनहम वा लिटन ओरिएन्ट मध्य एकको भ्रमण गर्नेछ ।
मंगलबार टोटेनहमको खेल स्थगित बनेको थियो । लिटन ओरिएन्टका अधिकांश खेलाडीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि खेल रद्ध गरिएको होे ।
गत हप्ता चेल्सी प्रिमियर लिगमा लिभरपुलसंग २–० ले पराजित बनेको थियो । सोही कारण प्रशिक्षक फ्राङ्क लाम्पार्डले अघिल्लो खेल खेलेका हाभर्ट्ज सहित तीन खेलाडीमात्र कारबाओ कपमा उतारेका थिए ।
डिफेन्डर डियागो सिल्भाले चेल्सीबाट पहिलो पटक डेब्यु गरेका थिए । २६ बर्षका ब्राजिली डिफेन्डर यसै सिजन लण्डन क्लब आएका हुन् ।
अर्को खेलमा लण्डन क्लब आर्सनलले कारबाओ कपको तेस्रो चरणमा लेस्टरलाई हरायो ।
क्रिस्टियन फक्सको आत्मघाति गोलसंगै अग्रता लिएको आर्सनलका लागि खेलको अन्तिम मिनेटमा एडी निकेटियाहले दोस्रो गोल गरेका थिए ।
आर्सनलले अब लिग च्याम्पियन लिभरपुलसंग अर्को चरणमा खेल्न सक्नेछ । त्यसका लागि लिभरपुलले बिहिबार लिग वान क्लब लिंकनलाई हराउनुपर्नेछ ।
अन्य प्रिमियर लिग क्लबहरु न्युक्यासल, एभर्टन, ब्राइटोन, वर्नली र फुलहले समेत आ आफ्नो खेलमा जित निकाले ।
च्याम्पियनसिप क्लब स्टोक सिटीले समेत तेस्रो डिभिजनको क्लब गिलिंगहमबिरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो ।