एजेन्सी । चेल्सीका डिफेन्डर थियागो सिल्भाले ब्राजिलबाट अर्को विश्वकप खेल्ने विश्वास ब्यक्त गरेका छन् ।
ब्राजिलका कप्तान समेत रहेका सिल्भाले ३८ बर्षको उमेरमा कतारमा हुने विश्वकपमा प्रतिनिधित्व गर्ने इच्छा ब्यक्त गरेका हुन् ।
सिल्भा यस समर ट्रान्सफरमा निशुल्क चेल्सी आएका छन् । उनले लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ८ सिजन बिताएका थिए ।
पेरिसमा रहदाँ विश्वको सर्वोकृष्ट डिफेन्डरको रुपमा उनले ३ सय १५ खेलमा प्रतिनिधित्व गरेका थिए ।
उनले लिग वानमा ८ सिजन बिताउँदा ७ पटक लिग उपाधि जितेका थिए ।
सिल्भाले अन्तराष्ट्रिय फुटबलमा सन् २००८ मा डेब्यु गरेका थिए । उनले ब्राजिलबाट ८९ खेल खेल्दै तीन पटक विश्वकपमा प्रतिनिधित्व गरिसकेका छन् ।
कप्तान समेत रहेका सिल्भाले ब्राजिलबाट थप एक विश्वकप खेल्ने ईच्छा ब्यक्त गरेका हुन् ।
उनी कतार विश्वकपमा सहभागी भए सबैभन्दा पुरानो खेलाडी मध्य एक बन्नेछन् ।
‘जसले मलाई दिन प्रतिदिन प्रेरित गर्छ । जसले हरेक दिन जित्ने भोक जगाउँछ । म सक्ने जति सबै चिज जित्न चाहन्छु ।’ सिल्भाले भनेका छन् ।
‘प्रिमियर लिगमा आउने मेरो मुख्य उद्धेश्य लिग उपाधि जित्नु हो । हामी हरेक कदममा भिड्नेछौ । टिम निकै बलियो छ । हामीले राम्रो प्रशिक्षक पाएका छौ । म सम्भव भए जत्तिको योगदान गर्न आएको हुँ । म सबै सम्भव उद्धेश्य प्राप्तिका लागि आफुलाई सुनिश्चित गर्न चाहन्छु ।’ उनले थपेका छन् ।
‘यही कुराले मलाई प्रेरित गर्छ । मैदानमा उत्रिन, हरेक खेल जित्न । म अरु बिषयमा केहीपनि सोच्दिन ’। सिल्भाले भने ।
‘जसरी मैले पहिला पनि भनेको छु । अर्को विश्वकप खेल्ने सम्भावनाले मलाई अघि बढ्न प्रेरित गर्छ । म अर्को विश्वकपसम्म ३८ बर्षको हुनेछु । यसका लागि राम्रो लयमा हुन आफुलाई प्रेरित गरिरहेको छु ।’ उनी दृढ देखिए ।
‘चेल्सी, जसले मलाई प्रतिनिधित्व गर्छ । उसको नयाँ परियोजना र नयाँ परिवारको सदस्य बनेकोमा मलाई खुसी र प्रेरणा मिलेको छ । मलाई लाग्छ, यस बर्ष धेरै विशेष हुनेछ ।’ सिल्भाले भने ।
सिल्भाले चेल्सीबाट डेब्यु गरेका छैनन् । उनले फिटनेसका कारण प्रिमियर लिगको सुरुवाती दुई खेल गुमाएका छन् ।