एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ ।
आइतबार साँझ भएको खेलमा ओजीसी निसलाई ३-० गोल अन्तरले पराजित गर्दै पीएसजीले दोस्रो जित निकालेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे, एन्जल डी मारिया र मार्क्विन्होसले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । निसका डिफेन्डर थुरामले एमबाप्पेलाई फउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो ।
सिजनको पहिलो खेलमै एमबाप्पेले गोल गरेका हुन् । कोरोना संक्रमण देखिएपछि एमबाप्पेले अघिल्ला ३ खेल गुमाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गरेपछि पीएसजी पहिलो हाफमै २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६६ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
जितसँगै पीएसजीले ४ खेलमा ६ अंक जोडको छ । पीएसजी तालिकाको सातौं स्थानमा रहेको छ ।
निसको यो दोस्रो हार हो । निस ४ खेलमा ६ अंक जोडेर तालिकाको दशौँ स्थानमा रहेको छ ।