एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई क्लब छाड्न दिन नसक्ने बताएका छन् ।
मेस्सी क्लबमै बस्ने निर्णयलाई लिएर आफुहरुलाई बधाई दिनुपर्ने उनले बताए ।
गत महिना मेस्सीले बार्सिलोना छाड्ने बिषय उत्कर्षमा पुगेको थियो । तर बार्सिलोनाले आफ्ना फरवार्डलाई क्लब छाड्ने अनुमती दिएन ।
केही हप्ताको विवादको श्रृखलालाई बन्द गर्दै मेस्सीले बार्सिलोनामै बस्ने निर्णय लिए । क्लबका अध्यक्ष बर्टोमेउले मेस्सीलाई बार्सिलोना बाहिर जान नदिने अडान राखे ।
बार्सिलोनाका अध्यक्ष बर्टोमेउले विश्वका सर्वोकृष्ट खेलाडीलाई आफुले बाहिर जान दिन नसक्ने बताएका छन् । उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा मेस्सी अघि बढ्ने विश्वास ब्यक्त गरे ।
‘मैले उनीसंग कुनै प्रकारको संघर्षमा गइन । उनी हाम्रा कप्तान हुन् । उनी हाम्रो टिमका नेता हुन् ।’ बर्टोमेउले क्याटलान टेलिभिजन नेटवर्कसंग भने ।
‘म उनलाई क्लब बाहिर जान दिन सक्दिन थिए । उनी सर्वकालिन उत्कृष्ट खेलाडी हुन् । टिमलाई उनी आवश्यक छ । मेस्सीले सफलता निश्चित गर्छन् ।’ उनले थपे ।
‘हामीले उनलाई मैदानमा आफ्नो कुरा गरेको देखेका छौ । हामी त्यस घटनाबाट निकै अघि बढेका छौ । मेस्सी हामीसंग रहेको र पछिल्ला दिनमा उनले गरेको ब्यवहारलाई लिएर हामीले आफुलाई बधाई दिन आवश्यक छ । संसारका सर्वोकृष्ट खेलाडी हाम्रो घरमै रहन पर्छ ।’ बर्टोमेउले भने ।
पुन क्लबमा फर्किएका मेस्सीले राम्रो संकेत गरेका छन् । उनले प्रि–सिजन अन्तर्गत जिरोनाबिरुद्धको मैत्रीपूर्ण खेलमा २ गोल समेत गरेका थिए ।
कोम्यानको नेतृत्वमा बार्सिलोनाले प्रि–सिजनका तीन वटै खेलमा जित निकालेको छ । मेस्सीसंगको विवादलाई लिएर क्लबका अध्यक्ष बर्टोमेउले समेत संकटको सामना गरिरहेका छन् ।
क्लबको बोर्डले भविष्यको बिषयमा निर्णय लिन बर्टोमेउलाई दुई हप्ताको समय दिएको छ । तर उनी तत्काल क्लबकै काममा केन्द्रित छन् ।
‘म र बोर्डले बलियो टिम बनाउनका लागि काम गर्दैछौ ।’ उनले भनेका छन्, ‘तत्काल कोही पद छाड्न चाहदैनन् । क्लब रोकिने छैन, हामी काम गरिरहने छौ । हामीसंग समाधान गर्नका लागि धेरै समस्या रहेका छन् ।’