एजेन्सी । युरोपा लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत आज (मंगलबार) स्पेनिस क्लब सेभिया र इंग्लिस क्लब उल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
जर्मनीको एमएसभी एरिनामा युरोपा लिगकै सर्वाधिक सफल टिम सेभियाले उल्भ्ससँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
सेमिफाइनल प्रवेशका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
सेभिया युरोपा लिगमा आफ्नो विरासत कायम गर्ने योजनामा समेत हुनेछ । त्यसैले पाँच पटकको च्याम्पियन सेभिया उल्भ्सको चुनौती पन्छाउन चाहन्छ ।
क्वाटरफाइनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभियाले उपाधि समेत जितेको छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको उल्भ्सलाई हराउँन सेभियालाई सहज भने हुने छैन ।
यता, लामो समयपछि क्वाटरफाइनल पुगेको उल्भ्स सेभियालाई हराएर अर्को इतिहास बनाउन चाहन्छ ।
उल्भ्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि उल्भ्स सन् १९७२ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।
उल्भ्सले ग्रिसको ओलम्पियाकोजलाई समग्रमा २-१ ले हराएर अन्तिम आठमा पुगेको हो । सेभियाले रोमालाई २-० ले हराएको थियो।
दुई टिमबीचको विजेताले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । कोपनहेगनलाई हराएर युनाइटेड अन्तिम चारमा पुगिसकेको छ ।
युरोपा लिग अन्तर्गत नै अर्को क्वाटरफाइनलमा शख्तर डोनेस्कस्ट र बसेलबीच प्रतिस्पर्धा हुनेछ ।
यस खेलको विजेताले सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।