एजेन्सी । ईन्टर मिलान युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमबार राति जर्मन क्लब बायर लिभरकुसनमाथि २–१ को जित निकाल्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो ।
खेलका तीनै गोल पहिलो हाफको २४ मिनेटभित्र सम्भव भएको थियो ।
लुकाकु युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्न सफल रहे ।
निकोला बरेलाको गोलसंगै ईन्टरले १५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लुकाकुले २१ औं मिनेटमा ईन्टरको अग्रता दोब्बर बनाए ।
काइ हाभटर्जले २४ औं मिनेटमा गोल गर्दै लिभरकुशनलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् ।
एन्टोनी कोन्टे नेतृत्वको ईन्टरले फाईनल प्रवेशका लागि अगष्ट १७ मा बासेल र शख्तर डोनेस्कबीचको विजेतासंग खेल्नेछ ।
युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्दै लुकाकु पाँचौ खेलाडी बने । लुकाकु प्रेरित ईन्टरले लिभरकुशनमाथि जित निकालेको हो ।
प्रिमियर लिग क्लबबाट आएका ईन्टरका क्रिस्टियन ईरिक्सन, एलेक्सिस साञ्चेज र भिक्टोर मोसिस बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
सन् २०११ मा कोपा ईटालिया जितेको ईन्टर उपाधिको खोजीमा रहेको छ । यस बीचमा ईन्टरमा ८ जना प्रशिक्षक परिवर्तन भएपनि उपाधि जित्न सकेका छैनन् ।