एजेन्सी । युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा थुप्रै कीर्तिमान बनाएका छन् ।
तर, रोनाल्डोको टिम युभेन्ट्स यस सिजन अन्तिम १६ बाटै बाहिरिएको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब लियोनसँग समग्रमा २-२ गोलको बराबरी खेल्दा 'अवे गोल' को आधारमा पछि पर्दै युभेन्ट्स बाहिरिएको हो ।
रोनाल्डोले बनाएको कीर्तिमान मध्ये एकै सिजन १७ गोल गर्ने पहिलो खेलाडी पनि एक हो ।
जुन रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दा बनाएका थिए ।
सन् २०१३/१४ को सिजन रियलबाट खेल्दा रोनाल्डोले च्याम्पियन्स लिगमा १७ गोल गरेका थिए । त्यो एकै सिजन च्याम्पियन्स लिगमा एक खेलाडीले गरेको सर्वाधिक धेरै गोल हो ।
तर, यतिबेला रोनाल्डोले ६ वर्षअघि बनाएको कीर्तिमान भङ्ग हुने सम्भावना देखिएको छ ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की रोनाल्डोको कीर्तिमान भङ्गको नजिक पुगेका छन् ।
च्याम्पियन्स लिगमा लेवान्डोस्कीले यस सिजन १३ गोल गरिसकेका छन् । अन्तिम १६ अन्तर्गतको शनिबार राति भएको दोस्रो लेगमा चेल्सीलाई ४-१ ले हराउँदा लेवान्डोस्कीले २ गोल गरेका थिए । चेल्सीविरुद्ध समग्रमा ७-१ को जितसहित बायर्न क्वाटरफाइनलमा समेत पुगेको छ ।
अब ३१ वर्षीय लेवान्डोस्कीलाई रोनाल्डोको कीर्तिमान भङ्ग गर्न ५ गोल आवश्यकता रहेको छ । बराबरी गर्न ४ गोलको आवश्यकता रहेको छ । यस सिजन निकै लयमा रहेको कारण उनले कीर्तिमान तोड्न सक्ने आँकलन गरिएको छ ।
जर्मन बुन्डेसलिगामा उनले यस सिजन ३४ गोल गर्दै गोल्डेन बुट समेत जितेका थिए ।
बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाईसकेको छ । बायर्नलाई उपाधि दाबेदार मानिएको छ । यस्तोमा बाँकी खेलमा लेवान्डोस्कीले आफ्नो लयलाई कायम राखेमा रोनाल्डोको कीर्तिमान भङ्ग गर्ने छन् ।
लेवान्डोस्कीको टिम बायर्नले क्वाटरफाइनलमा बलियो टिम बार्सिलोनासँग खेल्दैछ । उक्त खेल जितेमा बायर्नलाई उपाधि सहज हुने अनुमान गरिएको छ ।
तर, लेवान्डोस्कीले रोनाल्डोको कीर्तिमान भङ्ग गर्नु आफ्नो लक्ष्य नभएको बताएका छन् ।
'कीर्तिमान भङ्ग गर्नु मेरो लक्ष्यमा छैन । नकआउट चरणका केही खेलहरु मात्रै बाँकी छन् र म गोल सिर्जना गर्न पाउँदा खुशी छु,' पोल्याण्डका फरवार्डले भने ।
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता समेत हुन् । रोनाल्डोले १ सय ३० गोल गरिसकेका छन् ।
लेवान्डोस्की भने ६४ गोलले रोनाल्डो भन्दा पछि रहेका छन् । लेवान्डोस्कीले च्याम्पियन्स लिगमा कुल ६६ गोल गरेका छन् ।
च्याम्पियन्स लिगमा रोनाल्डोपछि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बार्सिलोनाका कप्तान लियोनल मेस्सी हुन् । अर्जेन्टिनाका मेस्सीले १ सय १५ गोल गरेका छन् ।