एजेन्सी । रियल मड्रिडका पूर्व अध्यक्ष रामोन काल्डिरोनले क्लबका फरवार्ड ग्यारेथ बेलले बर्नवेउमा समय खेर फालिरहेको बताएको छन् ।
उनले बेल र क्लबले वर्तमान समस्याको समाधान निकाल्न आवश्यक रहेको बताएका छन् ।
३१ बर्षका फरवार्ड च्याम्पियन्स लिगका नकआउट चरणको खेलका लागि टिममा थिएनन् । मुख्य प्रशिक्षक जिनेदिन जिदानले उनलाई म्यान्चेष्टर सिटीबिरुद्धको खेलमा टिम बाहिर राखेका थिए । जिदानले बेलकै कारण उनलाई बाहिर राखिएको बताएका थिए ।
'यो निकै दुखद कुरा हो । उनी जस्तो खेलाडीलाई बाहिर देख्दा निकै दुखी हुन्छु ।’ काल्डिरोनले बताएका छन् ।
‘मलाई लाग्छ, उनको प्रतिभा र क्षमता अझै गईसकेको छैन । उनी अहिलेपनि राम्रा खेलाडी हुन् । उनी विश्वका उत्कृष्ट टिमबाट उच्च स्तरको खेल प्रर्दशन गर्न सक्छन् ।’ उनले भने ।
‘सोही कारण मलाई लाग्छ उनीहरुले समाधान निकाल्न आवश्यक छ । यो असमझदारीलाई दुवैतर्फबाट मेट्न जरुरी छ ।’ उनले थपे ।
‘यदी उनी आफ्नो तलब घटाउन चाहदैनन् भने कुनै अर्को विकल्पमा समाधान खोज्न जरुरी छ ।’ काल्डिरोनले भने ।
रियलसंग बेलको सम्झौता अझै दुई बर्ष बाँकी छ । उनले मासिक ६ लाख डलर तलब बुझ्दै आएका छन् ।
उनले सन् २०१९÷२० को सिजनमा सबै प्रतियोगितामा १४ गोल गरेका थिए । कोरोनाका कारण सिजन पुन सुरु भएपछि उनले दुई खेलमा मात्र अवसर पाएका थिए ।