एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (शनिबार) राति दुई खेल हुदैछ ।
प्रतियोगिता अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा चार टोली भिड्न लागेका हुन् ।
शनिबार राति स्पेनिस क्लब बार्सिलोना र सिरि ए क्लब नापोली तथा जर्मन बायर्न म्युनिख र लण्डन क्लब चेल्सी आमने सामने हुदैछन् ।
दुवै खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
बार्सिलोना भर्सेस नापोली
ईटालीमा भएको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुदैछ । स्पेनिस लिगको उपाधिबाट बिमुख भईसकेको बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि उचाल्ने अवसर छ ।
सन् २०१५ देखि बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि उचाल्न सकेको छैन । हुन त बार्सिलोना सन् २००७ यता अन्तिम १६ को खेलबाट बाहिरिनु परेको छैन । तर बार्सिलोना च्याम्पियन्स लिगको उपाधि सहित सिजनको सुखद अन्त्य गर्ने दाउमा छ ।
मिडफिल्डर एन्टोनी कोन्टे र फ्रेन्की डी जोङ शनिबार राति बार्सिलोनाको जर्सीमा उपलब्ध हुनेछन् । यता नापोली पहिलो पटक प्रतियोगिताको क्वार्टरफाईनल पुग्न चाहन्छ । बार्सिलोनाको घरेलु मैदानमा सिरि ए क्लब नयाँ ईतिहास लेख्न चाहन्छ ।
बायर्न म्युनिख भर्सेस चेल्सी
अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्न म्युनिख र चेल्सी भिड्दैछन् । पहिलो लेगमा घरेलु टोली चेल्सीबिरुद्ध बायर्नले तीन गोलको अग्रता लिएको थियो । सोही कारण दोस्रो लेगमा बायर्नबिरुद्ध पुनरागमन जित निकाल्न चेल्सीका लागि निकै कठिन मानिएको छ ।
कम्तिमा चेल्सीले जर्मन क्लबबिरुद्ध ४–० को अन्तरमा जित निकाल्नुपर्नेछ । घाईते खेलाडीले पिरोलिएका प्रशिक्षक फ्राङ्क लाम्पार्ड अविश्वसनीय नतिजा निकाल्न एक मौका आएको जिकिर गर्छन् । तर बुन्डेसलिगा च्याम्पियन बायर्नलाई घरेलु मैदानमा निराश बनाउदै क्वार्टरफाईनल पुग्न चेल्सीका लागि निकै कठिन देखिएको छ ।