एजेन्सी । प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियमका अन्तराष्ट्रिय स्टार ईडिन हजार्डले रियल मड्रिडलाई धेरै सफलता दिलाउने बताएका छन् ।
लण्डन क्लब चेल्सीका पूर्व खेलाडीले आफुलाई स्टार खेलाडीको रुपमा स्थापित गरिसकेको उल्लेख गर्दै हजार्डले रियललाई धेरै उपाधि दिलाउन सहयोग गर्ने मार्टिनेजले बताए ।
धेरै महिनाको अनिश्चिततालाई पार गर्दै हजार्ड ठुलो मुल्यमा लण्डन क्लबबाट सन् २०१९ मा रियल मड्रिड आएका थिए ।
लण्डन क्लबमा रहदा उनले आफुलाई युरोपेली क्लब फुटबलको उत्कृष्ट आक्रमक खेलाडीको रुपमा विकास गरे । उनले ईङ्ल्याण्डमा ७ बर्ष बिताएका थिए । लण्डन क्लबमा हजार्डको भूमिकाबाट प्रभावित हुदै रियलले बेल्जियमका कप्तान खेलाडीलाई स्यान्टियागो बर्नवेउमा उतारेको थियो ।
रियल मड्रिडमा हजार्डको पहिलो सिजन चोटले नै छायाँमा पर्यो । उनले सबै प्रतियोगितामा मात्र २० खेलमा मैदान उत्रन पाए ।
जिनेदिन जिदान नेतृत्वको रियलमा हजार्डले मात्र एक गोल गर्न सकेका छन् । विश्वस्तरका प्लेमेकरले क्षमता अनुसारको प्रर्दशन रियलमा देखाउन सकेका छैनन् ।
रियल मड्रिडले पछिल्लो खेलमा ग्रानाडालाई २–१ ले हराउँदा हजार्डले अधिकांश समय मैदान बाहिर बिताएका थिए । खेलपछि प्रशिक्षक जिदानले आफ्ना विङ्गर अझै फर्ममा देखिन संघर्षरत देखिएको बताएका थिए ।
तर बेल्जियमका प्रशिक्षक मार्टिनेजले हजार्ड रियलमा मुख्य भूमिका खेल्न तयारी अवस्थामा रहेको बताएका छन् । उनले रियलको उपाधि यात्रामा हजार्डले राम्रो भुमिका निर्वाह गर्ने दाबी गरे ।
बेल्जियमका प्रशिक्षकले हजार्ड खराब समयको अन्तिमतर्फ रहेको उल्लेख गर्दै हजार्डको राम्रो समय आउन लागेको बताए ।
‘म निकै सकारात्मक आँकलन गरिरहेको छु । किनकी खेलाडीको राम्रो समय र खराब समयको नाप्न जरुरी छ ।’ मार्टिनेजले भने ।
‘यो बर्ष हजार्डको करियरको निकै कठिन समय रह्यो । उनले अहिलेसम्म यति धेरै खेल गुमाएका थिएनन् ।’ उनले भने ।
‘हजार्डले रियललाई देखाएका छन्, उनी स्टार खेलाडी हुन् । उनी क्लब र समर्थकका लागि धेरै सफलता ल्याउनेछन् ।’ मार्टिनेज भन्छन् ।
‘ला लिगा ढिला सुरु हुनु हजार्डका लागि राम्रो अवसर हो । किनकी उनले सिजनको अन्तिमसम्म खेल्न पाए ।’ उनले भने, ‘उनी रियलको योजनालाई अघि बढाउन शारिरिक र मानसिक रुपमा तयार छन् ।’