एजेन्सी । कोरोना भाईरसको महामारीपछि स्थगित इटालियन सिरी 'ए' फुटबल आगामी जुनबाट सुचारु हुने सम्भावना बढेको छ ।
इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ए फुटबल जुनबाट सुचारु गर्ने तयारी भईरहेको बताएका छन् ।
खेलकुद मन्त्री भिन्सेन्जोले लिग सुचारुका लागि दुई मितिबारे छलफल भईरहेको बताएका छन् ।
'हामी जुन १३ वा २० बाट सिरी ए सुचारुका लागि सम्भावित दुई मितिमा छलफल गरिरहेका छौँ,' खेलकुद मन्त्री भिन्सेन्जोले भनेका छन्, 'हामी यसबारे बिहिबार निर्णय गर्दैछौँ ।'
कोरोनाको कारण सिरी ए फुटबल गत मार्चबाट स्थगित गरिएको छ ।
यस सिजन साविक विजेता युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । युभेन्ट्स लाजियो भन्दा एक अंकले अघि रहेको छ ।
कोरोनाको कारण स्थगित बुन्डेसलिगा सुचारु भईसकेको छ ।
यस्तै फ्रेन्च लिग वान भने रद्द भईसकेको छ ।