एजेन्सी । इटालीको शीर्ष डिभिजन लिग सिरी 'ए' फुटबल कोरोना भाईरसको महामारी पूर्ण रुपमा निर्मुल भएपछि मात्र सुचारु हुने भएको छ ।
भिडियो च्याटको सहायताले शुक्रबार बसेको सिरी 'ए' क्लब र इटालियन प्लेयर एसोसियसनको संयुक्त बैठकले कोरोना निर्मुल नभएसम्म लिग पुन: संचालन नगर्ने निर्णय गरेका हुन्।
'सरकारको निर्देशन र प्राथमिकतालाई ध्यानमा राख्दै खेलाडीको स्वास्थ्य र त्यसमा संग्लग्न सबैको सुरक्षालाई ध्यानमा राख्दा स्वास्थ्य क्षेत्रले अनुमति दिएपछि सिरी र र कोपा इटालियाको बाँकी खेल पुन: सुचारु गर्ने विषयमा विचार गरिनेछ,' विज्ञप्तिमा भनिएको छ ।
कोरोनाको कारण इटाली सर्वाधिक प्रभावित हुने देशमा पर्छ । इटालीमा १४ हजार बढीको मृत्यु र १ लाख बढी मानिस संक्रमित रहेका छन् ।
जसको कारण इटालीमा खेलकुद गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
यस सिजनको लिगमा साविक विजेता युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । २६ खेल सकिदा युभेन्ट्सले लाजियोलाई १ अंकले पछि बनाएको छ ।