एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी टिनो अन्जोरिनसंग सम्झौता नविकरण गर्न सहमत बनेको छ ।
पछिल्लो हप्ता छलफल सकारात्मक देखिएसंगै चेल्सीले अन्जोरिनलाई सन् २०२५ सम्म क्लबमा राख्न सहमती जनाएको हो ।
१८ बर्षिया खेलाडीको चेल्सीसंगको सम्झौता सकिन १५ महिना बाँकी थियो । सहमती बनेपनि क्लब र खेलाडीबीच हस्ताक्षर हुन बाँकी छ ।
तर क्लब सम्झौता नविकरणमा सहमत देखिएको छ ।
प्रशिक्षक फ्राङ्क लाम्पार्डले कोरोना भाईरसको प्रकोपका बीच फुटबल गतिविधि बन्द भएपनि क्लबको पहिलो टिममा अन्जोरिनलाई राख्न सहमती दिएका छन् ।
चेल्सी खेलाडीको चोटको संकटसंग जुधिरहेको छ । सोही कारण अन्जोरिनले चेल्सीबाट अवसर समेत पाएका थिए । फुटबल निलम्बित हुनु अघि एभर्टनसंग ४–० को जित निकाल्ने क्रममा उनलाई टिममा देख्न पाईएको थियो ।
कालुम हडसन ओडोईलाई कोरोना भाईरसको संक्रमण देखिएपछि क्लबका सबै खेलाडी एकान्तवासमा रहेका छन् । तर पछिल्लो समय उनीहरुलाई घर बाहिर निस्कन अनुमती दिईएको छ । उनीहरु घरमै ट्रनिङ गरेर बसेका छन् ।
'म गोल गर्न चाहन्छु । गोलको अवसर सिर्जना गर्न चाहन्छु ।' अन्जोरिनले एक अन्तरवार्तामा भनेका छन्, 'पाँच बर्षको अन्तरमा म टिमको नेतृत्व गर्न चाहन्छु । एकेडेमीका खेलाडी बाहिर निकाल्न चाहन्छु । जसले मलाई हेरेर रोमाञ्चित हुनेछन् ।'
चेल्सीले टोमी अब्राहमसंग सम्झौता नविकरणको प्रयास गरिरहेको छ । फुटबल सिजन रोकिएपनि खेलाडीसंग छलफल अघि बढिरहेको छ ।
प्रशिक्षक लाम्पार्डले एकेडेमीकै खेलाडीलाई पहिलो टिममा अवसर दिएका छन् ।
चेल्सी समर ट्रान्सफरमा बोरुसिया डर्टमण्डका खेलाडी जोडन साञ्जो सहितका केही स्टार खेलाडी क्लaबसंग जोड्न चाहन्छ । चेल्सीले यसअघिनै अजाक्सका हाकिम जियचलाई लण्डन क्लबसंग अनुबन्धित गरिसकेको छ ।