एजेन्सी । कोरोना भाईरसको महामारीबाट युरोपेली देश ईटाली जटिल अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो समय दैनिक जसो मृतकको संख्या हजार नजिक पुग्छ ।
दैनिक सयौको संख्यामा मानिसले ज्यान गुमाईरहेका छन् । ईटालीको जनजिवनमात्र अस्तव्यस्त छैन, अर्थब्यवस्था समेत धरासायी छ । त्यसको प्रत्यक्ष प्रभाव घरेलु फुटबलमा परेको छ ।
सिरि एका शीर्ष क्लबले लामो समय बित्तिय संकटको सामना गर्नुपर्ने देखिएको छ ।
आर्थिक संकटबाट मुक्त पाउन क्लबलाई लामो समय लाग्ने प्रारम्भिक रिपोर्टले देखाएका छन् ।
युरोपेली क्लब फुटबलका ठुला स्टार हुन्, रोनाल्डो । उनी ईटालीको शीर्ष क्लब युभेन्ट्सबाट खेल्छन् ।
वित्तिय संकट झेलिरहेको युभेन्ट्सले विश्व फुटबलका महङ्गा फुटबलर रोनाल्डोलाई क्लबमा थेग्न सक्ला ?
युरोपेली क्लब फुटबलमा उठेको महत्वपुर्ण बिषय छ ।
आर्थिक समस्यासंग जुधिरहेको युभेन्ट्सले बित्तिय संकटबाट माथि उठ्न रोनाल्डोलाई अन्य क्लबमा बेन्च सक्ने बताईएको छ । रोनाल्डो पूर्व क्लब म्यान्चेष्टर युनाईटेड वा फ्रान्सको धनाड्य क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान सक्नेछन् ।
ईटालिन मिडियाको दाबी मान्ने हो भने, सामान्य अवस्थामा फर्किएपनि युभेन्ट्सलाई रोनाल्डो जस्ता महङ्गा खेलाडीलाई खर्च जुटाउन समस्या पर्नेछ । रोनाल्डो प्रत्येक हप्ता करिब ५ लाख पाउण्ड तलब लिदै आएका छन् ।
भर्खरैमात्र रोनाल्डो सहित क्लबका अन्य खेलाडी र प्रशिक्षक मौरिजियो सर्रीले क्लबलाई बित्तिय संकटबाट पार लगाउन चार महिनाको तलब कटौती गर्ने सहमती जनाए । खेलाडीहरु मार्चदेखि जुनसम्मको तलब नलिन सहमत बने । खेलाडी र प्रशिक्षकले करिब ९० मिलियन युरो छाड्ने निर्णय लिएका हुन् । जसमा रोनाल्डोले मात्र करिब १० मिलियन पाउण्ड पैसा गुमाउनेछन् ।
रोनाल्डोले सन् २०१८ मा चार बर्षको सम्झौता गर्दै युभेन्ट्स आएका थिए । उनी १ सय ५ मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट सिरि ए क्लब आएका थिए ।
३५ बर्षका रोनाल्डोलाई बेच्दा समेत युभेन्ट्सले सरुवा बजारमा कम मुल्य पाउनेछ । रोनाल्डोको खर्च उठाउन क्लब तयार भए अर्का महत्वपूर्ण खेलाडीलाई सिरि ए क्लबले गुमाउनुपर्ने हुन सक्छ ।
कोरोना भाईरसका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनेको छ । जसमा फुटबल सबैभन्दा बढी प्रभावित छ । खेल नहुँदा क्लबलाई टिकटबाट प्राप्त हुने आम्दानीका साथै टिभी प्रशारणबाट प्राप्त हुने रकम प्रभावित हुन सक्नेछ ।