एजेन्सी । म्यान्चेष्टर युनाईटेड सिरि 'ए' क्लब युभेन्ट्सका डिफेन्डर म्याथिज डी लिग्ट अनुबन्धमा तयार देखिएको छ ।
सिरि 'ए' महारथी क्लब युभेन्ट्सको योजनामा पर्न छाडेका डी लिग्टमाथि प्रस्ताव अघि बढाउन प्रिमियर लिग क्लब युनाईटेड तयार देखिएको हो ।
डी लिग्टयुभेन्ट्स आएको पहिलो सिजनमै राम्रो प्रर्दशन गर्न संघर्षरत देखिएका छन् । सिरि 'ए' को डेब्यु सिजनमै लयमा देखिन संघर्षरत डी लिग्टलाई बाहिर पठाउन युभेन्ट्स तयार छ ।
टर्किस खेलाडी मेरी डेमिरल जनवरीमा घाईते हुनु अघि डी लिग्टले आफ्नो स्थान समेत गुमाउन पुगेका थिए ।
एक सिजन सिरि एमा राखेपछि युभेन्ट्स डी लिग्टलाई बाहिर पठाउन चाहिरहेको छ । यही समय युनाईटेडले नेदरल्याण्डका डिफेन्डर डी लिग्टमाथि ठुलो रुचि देखाएको हो ।
डी लिग्ट युभेन्ट्स आउनु अघि युरोपेली फुटबलका उदयमान स्टारको रुपमा चिनिएका थिए । डच क्लब अजाक्समा नेतृत्वदायी भूमिका खेलेका डी लिग्टलाई युभेन्ट्सले साढे ६७ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो ।
उनैको नेतृत्वमा अजाक्स च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुगेको थियो ।
पछिल्लो परिस्थितीको अनुगमन गरिरहेको युनाईटेडले युभेन्ट्स तयार भएमा डी लिग्टलाई अनुबन्धन गर्ने योजना बनाईरहेको छ ।
सोही अनुसार डी लिग्टका एजेन्ट मिनो राईओलासंग युनाईटेडले सम्पर्क बढाईरहेको छ । आगामी समर ट्रान्सफरमा उनी उपलब्ध भए अनुबन्धन गर्ने योजना युनाईटेडको छ ।
युनाईटेड सेन्टर डिफेन्डको खोजीमा रहेको छ । युनाईटेडले गत सिजनमात्र कीर्तिमानी ८० मिलियन पाउण्डमा ह्यारी मागुरीलाई क्लबमा अनुबन्धन गरेको थियो ।
उनकै विकल्प समेत ओल्ड ट्राफोर्ड क्लबलाई चाहिएको छ । अजाक्सलाई च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुर्याउन योगदान गरेका डी लिग्टको क्षमताबारे युनाईटेड राम्रो जानकार छ ।