एजेन्सी । कोरोना भाईरसको महामारीले युरोपियन राष्ट्रको खेलकुद गतिविधि ठप्प छ ।
तर, त्यहीँ युरोपको एक राष्ट्र बेलारुस भने फुटबलमा मस्त छ ।
कोरोनाको महामारीविरुद्ध लड्न युरोपका ठुला राष्ट्रहरु लागिपरेको बेला बेलारुस भने निर्वाध रुपमा फुटबलमा झुमिरहेको छ ।
बेलारुसको शीर्ष लिग बेलारुसियन प्रिमियर लिग जारी छ । र, शनिबार मात्र ६ खेल खेलाईएको थियो । जहाँ समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।
एफसी मिन्स्क र डाइनामो मिन्स्कबीचको डर्बी खेल ३ हजार दर्शकले रंगशालाबाट खेल हेरेका थिए । एफसी मिन्स्कले ३-२ को जित निकालेको खेल विश्वमै भएको एक मात्र आधिकारिक डर्बी खेल भएको बताईएको छ ।
बेलारुसमा कोरोनाको संक्रमण एक सय भन्दा तल रहेको छ । र, हालसम्म कसैको मृत्यु भएको छैन ।
त्यसैले सतर्कताका लागि सरकारको नियममा रहेर प्रतियोगिता आयोजना गरिरहेको बेलारुस फुटबल फेडेरेसनले जनाएको छ ।
‘खेलकुद मन्त्रायलले भने बमोजिम सबै नियम पालना गरेका छौँ । फ्यानसँग भेट हुने सबैलाई ग्लोब प्रदान गरेका छौँ,’ फेडेरेसनका प्रवक्ता एलेक्जान्डर एलेइनिकले भनेका छन् ।
कोरोनाको कारण युरोपमा अधिकांस देश लकडाउन गरिएको छ । तर, बेलारुस सरकारले भने कुनै सतर्कता अपनाएको छैन ।
बेलारुसका राष्ट्रपति एलेक्जान्डर लुकाशेन्कोले जनतालाई भोड्का पिउन सल्लाह दिइरहेका छन् ।
गत साता मात्रै राष्ट्रपति एलेक्जान्डरले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग आइस हक्की खेलेका थिए ।