धरान । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको युके एफसीलाई २-० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
मनाङको जितमा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा दयानन्दले गोल गर्दै मनाङलाई २-० को जित दिलाए ।
अब मनाङले फाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।
यस अघि उपाधि दाबेदार मनाङले क्वाटरफाइनलमा मोरङको बेलबारी फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
भारतीय टोलीले भने आयोजक धरान फुटबल क्लबलाई हराएको थियो ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।